संस्थागत परिचय

विकास क्षेत्रको अवधारणा अनुसार क्षेत्रीय कार्यालयहरुको स्थापना गर्ने उद्धेश्य अनुरुप क्षेत्रीय वन निर्देशनालय, सुर्खेतको स्थापना बि.सं. २०४० सालमा भएको हो । नेपालका पाँच विकास क्षेत्रहरु मध्ये मध्यपश्चिमान्चल विकास क्षेत्र एक हो । यस क्षेत्रमा कर्णाली अंचलका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोट गरी ५ जिल्ला तथा राप्ती अंचलका रुकुम, रोल्पा, सल्यान, प्यूठान र दांग गरी ५ जिल्ला र भेरी अंचलका बाँके, बर्दिया, सुर्खेत, जाजरकोट तथा दैलेख गरी ५ जिल्ला रहेका छन् । ३ अंचल तथा १५ जिल्लाहरु रहेको यस क्षेत्रको क्षेत्रीय सदरमुकाम सुर्खेतमा रहेको छ । तराई, भित्री मधेश, पहाडी तथा हिमाली जिल्लाहरुको संगम रहेको यस क्षेत्र भौगोलिक हिसाबले देशको सबैभन्दा ठूलो, दुर्गम तथा विकट क्षेत्रको रुपमा पनि परिचित रहेको छ । यस क्षेत्रले नेपालको कूल भू-भागको ४२५०९५९ हेक्टर अर्थात २८.८ प्रतिशत क्षेत्रफल ओगटेको छ । विकास क्षेत्रको कूल भू-भागको १५९०७२२ हेक्टर अर्थात ३७.४२ प्रतिशत जमिन वन क्षेत्रले ढाकेको छ । समुद्र सतह बाट १२९ मिटर बाँके देखि ७७६७ मिटर हुम्ला उचाई सम्म पर्ने हुनाले यसै अनुरुप तापक्रममा पनि मौसमी र भौगोलिक रुपले ब्यापक अन्तर रहने गरेको पाइन्छ । यस क्षेत्रको पूर्वमा पश्चिमान्चल विकास क्षेत्रका मुस्तांग, म्याग्दी, बाग्लुंग, गुल्मी, अर्घाखाँची र कपिलवस्तु जिल्लाहरु र पश्चिममा सुदुर पश्चिमान्चल विकास क्षेत्रका बाजुरा, अछाम र डोटी जिल्लाहरु तथा उत्तरमा चीन तथा दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ । 

तराईका जिल्लाहरु बाँके, बर्दिया तथा भित्रि मधेशका जिल्लाहरु दांग र सुर्खेतमा साल, असना, सिसौ, खयर, कर्मा, सिमल तथा उष्ण प्रदेशिय नदी तटीय वन घाँसे मैदान आदि पाइन्छन् । यस क्षेत्रमा पाइने जडिबुटी तथा अन्य गैह्रकाष्ठ वन पैदावारहरुमा कुरिलो, सिकाकाई, सर्पगन्धा, वेल, तितेपाती, अमला, पिपला, मजिठो, घोंडताप्रे, हर्रो, वर्रो, राजवृक्ष, निम, भोर्ला, अतिस, सतुवा, चिराइतो, पदमचाल, कुट्की, यार्सागुम्बा आदि पाइन्छन् ।
मुख्य दायित्व 
  •  यस विकास क्षेत्रमा रहेका वन तथा भू-संरक्षण मन्त्रालय अन्तर्गतका कार्यालयहरु आयोजना परियोजना एवं निकायहरु मार्फत संचालित कार्यक्रमहरुको अनुगमन निरीक्षण समिक्षा तथा मूल्यांकन गर्ने ।
  •  यस क्षेत्रमा रहेका वन तथा भू-संरक्षण मन्त्रालय अन्तर्गतका जिल्ला स्थित कार्यालयहरुको वार्षिक योजना तर्जुमा गर्नको निम्ति आवश्यक कार्य एवं सहजीकरण गर्ने ।
  • यस निर्देशनालय मातहतका वन विकास कार्यमा संलग्न रहेका सरकारी, गैरसरकारी र आयोजनाहरू बीच समन्वयको भूमिका निर्वाह गर्ने ।
  • चौमासिक तथा बार्षिक प्रगतीको समिक्षा गर्ने ।
  • अनुगमन तथा मूल्यांकनबाट प्राप्त सुधार गर्नुपर्ने पक्षहरुलाई नीतिगत रुपमा समावेश गर्नको लागि वन तथा भू–संरक्षण मन्त्रालयलाई आवश्यक पृष्ठपोषण गर्ने । 
लक्ष्य तथा उद्धेश्य
लक्ष्य
वन क्षेत्रको दिगो व्यवस्थापन गरी वन र पारिस्थितिकीय वस्तु तथा सेवा प्रवाह एवं जिम्मेवारपूर्ण उपयोग गर्दै वन उद्धम मार्फत रोजगार सिर्जना गरी गरिबी न्यूनीकरणमा टेवा पुर्याउने क्रममा वन क्षेत्रमा संचालित कार्यक्रमहरुको अनुगमन तथा मूल्यांकन गर्नु क्षेत्रीय वन निर्देशनालयको मुख्य लक्ष्य हो ।
उद्धेश्यहरु​
  • क्षेत्रभित्र रहेका वन विभाग, भू तथा जलाधार संरक्षण विभाग, वनस्पति विभाग, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन अनुसन्धान तथा सर्वेक्षण विभाग तथा क्षेत्रीय वन तालिम केन्द्र अन्तर्गतका कार्यालयहरुबाट संचालित कार्यक्रमहरुको अनुगमन तथा निरीक्षण गर्ने ।
  • क्षेत्र स्थित वन, वनस्पति, भू संरक्षण, वन अनुसन्धान र राष्ट्रिय निकुन्ज सम्बन्धि कार्य गर्ने आयोजना, परियोजना र अन्य गैरसरकारी संघ संस्थाहरुसँग समन्वय गरी कार्यक्रम संचालन एवं प्रभावकारी बनाउने ।
  • वन अनुसन्धान तथा सर्वेक्षण विभाग अन्तर्गतका अनुसन्धान प्लटहरुको अनुगमन तथा निरीक्षण गर्नुको साथै अनुसन्धानबाट प्राप्त जनउपयोगी नतिजाहरुको प्रचार प्रसार गर्ने गराउने ।  
​​अपेक्षित प्रतिफल 
  • वन सम्पदा तथा जैविक विविधताको संरक्षण, सम्वर्द्धन र सदुपयोग ।
  • सरोकारवाला निकायहरुसँग सहकार्य गरेर वन क्षेत्रको नीति र योजनाहरुको प्रभावकारी कार्यान्वयन ।
  • सामुदायिक वन तथा कबुलियती वन मार्फत ग्रामिण भेगका गरीब जनताहरुको जीविकोपार्जनमा सुधार ।
  • राष्ट्रिय वन विकास तथा निजि वनको प्रवर्द्धन मार्फत रोजगारी सिर्जना ।
  • वन्यजन्तु, वनस्पति तथा यिनीहरुको बासस्थानको संरक्षण एवं दिगो विकास ।
  •  वन तथा वन्यजन्तु सम्बन्धि अपराध एवं अवैध क्रियाकलापहरुको नियन्त्रण तथा न्यूनीकारण ।
  • चुस्त वन प्रशासन तथा प्रभावकारी सेवा प्रवाह ।
 


सूचना तथा परिपत्र


हेल्लो क्षेत्रीय वन सुर्खेत

Get connected